जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा शृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशीसहित ९ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

कास्की प्रहरीले पोखरामा चोर्दै हिँड्ने चार विदेशीसहित नौ जनाको गिरोहलाई पक्राउ गरेको छ । पोखराका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रूपमा घर तथा कोठामा चोरीका घटना बढ्न थालेपछि कास्की प्रहरीले सञ्चालन गरेको विशेष अनुसन्धानबाट उनीहरुलाई चोरीका नगद, सुनका गरगहना तथा अन्य सामानसहित पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रवक्ता, डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार पक्राउ पर्नेमा भारतका दुई, चीनका दुई तथा नेपालका पाँच जना रहेका छन्।

पक्राउ पर्नेमा भारतीय नागरिक राहुल निषाद र सोमनाथ हनुमन्त जाधव, चिनियाँ नागरिक वेन जी र , वाङ्ग लियानइन रहेको डिएसपी पासवानले जानकारी दिए ।

त्यस्तैगरी नेपाली नागरिकमा स्याङ्जाका राजकुमार विक, कास्कीका राजु केसी उर्फ खिमबहादुर क्षेत्री, अर्घाखाँचीका अशोक पोख्रेल, कास्कीका केशव पाइजा मगर तथा बागलुङका अनिल विक रहेका छन् ।

पाँच स्थानमा चोरी

प्रहरीका अनुसार पक्राउ परेकाहरूले पोखराका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रूपमा चोरी गरेका थिए।

गत असार १४ गते राति पोखरा महानगरपालिका–१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट करिब २५ तोला बराबरका सुनका गरगहना तथा ७० हजार रुपैयाँ नगद चोरी भएको थियो।

यस्तै असार ४ गते पोखरा–१७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट आधा तोला सुन, १ लाख ५० हजार रुपैयाँ नगद, एक थान ल्यापटप र एक थान मोबाइल चोरी भएको थियो।

असार १५ गते पोखरा–१८ भकुण्डेस्थित गिरीधरी श्रेष्ठको घरबाट दुई थान मोबाइल र १ तोला ५४ लाल बराबरको सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।

त्यसैगरी असार २३ गते पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित एक विदेशी नागरिक Mohsen Khatami बस्ने कोठाबाट एक थान मोबाइल र २५ हजार रुपैयाँ नगद चोरी भएको थियो।

उही दिन बिहानै पोखरा–६ लेकसाइडस्थित हिरामणी लामिछानेको घरबाट एक थान आईफोनसहित विभिन्न सामान चोरी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

सुन, नगद र विभिन्न सामग्री बरामद

प्रहरीले अभियुक्तहरूको साथबाट ९ थान मोबाइल फोन, १ थान स्मार्ट घडी, १ थान ल्यापटप, विभिन्न तौलका सुनका ब्रासलेट, सुनका टुक्रा तथा सुनका ढिक्काहरू बरामद गरेको छ।

त्यसैगरी नगद २ लाख १ हजार २ सय २० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

डिएसपी पासवानका अनुसार पक्राउ परेका सबैमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। साथै चोरी भएका अन्य घटनामा पनि उनीहरूको संलग्नता रहेको हुन सक्ने भन्दै अनुसन्धानलाई थप विस्तार गरिएको प्रहरीले जनाएको छ।