विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा कास्कीको पोखरास्थित ओसिस टुरिजम इन्टरनेसनलका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–५, पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटकका मोहम्मद यासेर छन् । वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उक्त कार्यालयबाट प्रयोगमा रहेका कम्प्युटरलगायत अरू महत्त्वपूर्ण सामग्री समेत बरामद गरेको छ । उक्त कम्पनी नेपाली नागरिकका नाममा दर्ता गरिए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ ।
कम्पनीले दुबई, सिंगापुर, मलेसिया, थाइल्यान्डलगायत देशमा सस्तो प्याकेजमा घुम्न लैजाने भन्दै ग्राहक आकर्षित गर्ने गरेको थियो । प्रतिव्यक्ति चारदेखि पाँच लाख रुपैयाँसम्मको प्याकेज बनाएर सुरुमा अग्रिम रकम लिने र पूर्ण भुक्तानी भइसकेपछि कम्पनी नै बन्द गरेर सञ्चालक फरार हुने योजनाका साथ ‘स्क्याम’ चलाइएको प्रहरीको भनाइ छ ।
उक्त कम्पनीले विभिन्न ‘अफर’ देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाउने गरेको थियो ।
छापा मार्ने क्रममा कम्पनीमा कार्यरत १५ युवतीलाई प्रहरीले फेला पारेको थियो । उनीहरूलाई आवश्यक सोधपुछ र सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको छ ।
यसमा संलग्न अरू दुई सञ्चालक भने हाल फरार रहेकाले उनीहरूको खोजीकार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्युज एजेन्सी नेपाल