जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ढुंगा देखाएर ठगी गर्ने ६ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका २६ कालिकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने पदार्थलाई बहुमूल्य वस्तु भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरू भाडामा बस्दै आएको डेरा तथा उनीहरूको शरीर खानतलासी गर्दा प्रहरीले विभिन्न सामग्री बरामद गरेको छ।

प्रहरीले उनीहरू बस्ने डेरा र शरीर खानतलासी गर्दा विभिन्न वस्तु बरामद गरेको छ । जसमा सेतो टल्किने क्रिस्टलजस्तो देखिने १ थान वस्तु फेला परेको छ । यस्तै काठको फोल्डिङ बट्टा १ थान र ६ फिट ५ इन्च लामो केबलसहितको १ थान चार्जर पनि बरामद गरिएको छ । उनीहरूका साथबाट ६ थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पर्वत फलेवास ५ घर भएका ३५ वर्षका राजन विक छन् । सोही ठाउँकी २७ वर्षकी रोशनी विक र ६९ वर्षकी बाटुली भन्ने खगिसरा कामीलाई पनि प्रहरीले पक्रेको छ । म्याग्दी मालिका ४ घर भई हाल पोखरा २६ बस्ने ५१ वर्षका दिलबहादुर बुढा मगर पक्राउ परेका छन् । म्याग्दी रघुगंगा ५ घर भई पोखरा २७ अर्चले बस्ने २९ वर्षका दीपक गोतामे पनि प्रहरी नियन्त्रणमा छन् ।

कास्की पोखरा २१ घर भई पोखरा ५ मालेपाटन बस्ने ४५ वर्षका प्रेमचन्द्र विश्वकर्मालाई पनि प्रहरीले पक्रेको छ । उनीहरूले लामो समयदेखि सर्वसाधारणलाई ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । ‘घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ,’ कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले बताए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।