जन्मभुमि खबर ,
पोखरा
फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन ।
सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु सङ्ख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ । पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो । यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो ।
विमानस्थलका महाप्रबन्धक निरौलाले पोखराबाट उडान सेवा सुरु गर्न एयर अरेबियाले चासो देखाएको बताए । “पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनको दिगोपनाका लागि निजी क्षेत्रलगायत सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ”, उनले भने, “पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुँदा मुलुकको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्छ, सर्वसाधारण यात्रुहरुले सहज सुविधा पाउँछन् ।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रहेको छ । काठमाडौँ केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुँदा मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरहरूसँग पोखराको पहुँच पुग्ने जनाइएको छ ।
झण्डै रु २२ अर्ब ऋणमा बनेको यस विमानस्थल हाल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन गरिएको थियो । स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँ, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा छन् ।
पोखरा–दुबई सिधा उडानले पोखरा र सिङ्ग्रो गण्डकी प्रदेशको आर्थिक समृद्धिको ढोका खुल्ने उद्योग वाणिज्य महासङ्घ, गण्डकीका अध्यक्ष नरेश कँडेलले बताए । “गण्डकी प्रदेशबाट मध्यूपूर्वका देशदेखि युरोप, अमेरिकासम्म रोजगार र अध्ययनका लागि जानेको सङ्ख्या ठूलो छ”, उनले भने, “पोखरा–दुबई उडानले ती यात्रुलाई घर आउन सहज र कम खर्चिलो बन्नेछ, पोखरालगायत आसपासका गन्तव्यमा आउने पर्यटक अब सिधै पोखरा आउन पाउँछन् ।”