रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
जन्मभुमि खबर ,
पोखरा ।
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् ।
भेटपछि मोदीले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाको नेपाली भावानुवाद
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सँगै मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्छु ।
हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र हो । नेपालमा गठन हुने नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष, बहुआयामिक तथा घनिष्ठ सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन हामी उत्सुक छौँ ।
सोमबार भारत भ्रमणमा गएका रास्वपा सभापति रविलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो । सरकारको नेतृत्व गरेको भाजपाका अध्यक्ष नितिन नवीनले रास्वपा सभापति रविलाई स्वागत गरेका थिए ।
मंगलबार नै भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि लामिछानेले भेटघाट गरेका थिए ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो ।