जन्मभुमि खबर ,
पाेखरा ।
तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको प्रगति न्यून देखिएको छ ।
हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । पछिल्लोपटक गत सेप्टेम्बरमा आयोजनाको ठेक्का म्याद थप गरिएको थियो । आगामी जुन ३० सम्ममा म्याद थप भए पनि उक्त अवधिमा पनि आयोजनाको काम पूरा नहुने आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले बताए।
“बर्सातका बेला निर्माणको काम प्रभावित हुन्छ, आगामी हिउँदसम्म आयोजनाको अवधि लम्बिने अवस्था छ”, उनले भने, “पछिल्लो समय कामको गति केही बढे पनि निर्धारित समयमा आयोजनाको काम सम्पन्न गर्न कठिन देखिएको छ ।”
लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको छ । न्यूरोड र चिप्लेढुङ्गा क्षेत्रमा काम सुरु हुन बाँकी रहेको आयोजनाका प्रमुख इन्जिनियर सुवेदीले बताए। आयोजनाको इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापार्वाहीका कारण आयोजनाको गति सुस्त हुँदै आएको हो ।
पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । पर्यटकीय सहर पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो । जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण नै गरिरहेको छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ ।
‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको हो । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने हुँदा ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने प्राधिकरणको भनाइ छ ।