जन्मभुमि खबर ,
पोखरा ।
हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।
यसअघि (पोखरा–जोमसोम) हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी यहाँ उडान भर्दै आइरहेको अर्को निजी वायुसेवा कम्पनी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रअरी १ सम्म (पोखरा–जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा अधिकांश भारतीय पर्यटकहरू पोखरा–जोमसोम हवाई मार्गबाट आउने गरेकोमा सिमानाका बन्द भएकाले पनि हवाई सेवा प्रभावित भएको हो । तारा एयरलाइन्स जोमसोमका स्टेसन इञ्चार्ज सुचन लालचनले निर्वाचनका कारण पर्यटकको आगमन प्रभावित भएको भए पनि अब निर्वाचन सकिएका हवाई यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरे। निर्वाचन सकिएकाले पोखरा–जोमसोम हवाई सेवाका लागि हवाई यात्रुहरूले धमाधम टिकट बुकिङ गर्न थालेको उहाँको भनाइ छ।
मुस्ताङमा बर्सेनि डेढ लाख विदेशी पर्यटक भित्रिने गरेकोमा ७० प्रतिशत विदेशी पर्यटक भारतीय दर्शनार्थी रहेको छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि विगतको तुलनामा पोखरा–जोमसोम हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ।
पछिल्लो समय भारतीय पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने भएकाले हवाई उडान घट्दै गइरहेको छ । कुनै समय मुस्ताङमा निजी वायुसेवा कम्पनीले दैनिक १८ वटासम्म उडान भर्ने गरेका थिए । पछिल्लो समय यहाँ दैनिक १० वटाभन्दा बढी उडान हुन सकेको छैन।
मुस्ताङमा पोखरा–जोमसोम हवाई उडानका लागि तारा एयरलाइन्स र समिट एयरलाइन्सको जहाजले मात्रै उडान भर्दैआइरहेका छन् । नेपाल वायुसेवा कम्पनीको जोमसोममा टिकट बुकिङ कार्यालय सञ्चालनमा रहे पनि लामो समयदेखि नेपाल वायुसेवा कम्पनीको हवाई उडान सेवा सञ्चालन हुन सकिरहेको छैन।