जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की अदालतमा अब रवि लामिछानेले तारेख धाउन नपर्ने

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले अब कास्की जिल्ला अदालतमा नियमित तारिख धाउन नपर्ने भएको छ ।

मंगलबार जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले नियमित तारिख धाउन नपर्ने आदेश दिएको हो । आइतबार लामिछानेले तारिख बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने माग राखेर अदालतमा निवेदन दिएका थिए ।

सोही अनुसार मंगलबारको इजलासले उनको माग बमोजिमको आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले जानकारी दिए ।

यसअघि उनले हरेक महिना अदालतमा उपस्थित भएर तारेख बुझ्नुपर्ने व्यवस्था थियो । अब भने उनी नियमित रूपमा तारेख बुझ्न अदालत गइराख्नु पर्ने छैन । यद्यपि मुद्दाको प्रक्रियाका क्रममा कुनै थप प्रमाण बुझ्न आवश्यक परेको खण्डमा वा अदालतले बोलाएको अवस्थामा भने उनी उपस्थित हुनुपर्नेछ ।

मुद्दाका अन्य प्रक्रिया भने यथावत् नै रहने सूचना अधिकारी किसानले बताए । ‘तारिखमा बस्न नपर्ने गरी सुविधा पाउँ भनेर निवेदन आएको थियो । त्यो निवेदन माग बमोजिम भएको छ,’ उनले भने, ‘यो आदेशपछि अब उहाँ तारिख आइराख्नु परेन । महिना–महिना जस्तो थियो, त्यो तारिखमा रहन नपर्ने गरी आदेश भएको हो ।’

लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा सबैभन्दा पहिले कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो । उनी अघिल्लो वर्षको कात्तिकमा पक्राउ परेर पुसमा धरौटी बुझाएर रिहा भएका हुन् ।

उनी ६५ लाख धरौटीमा रिहा भएका थिए ।