जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केपी ओलीको स्थानहद फुकुवा

जन्मभुमि खबर,

पोखरा ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीलाई जाँचबुझ आयोगले स्थानहद लगाएको थियो ।

सोमबार (पुस २१) ओलीको स्थानहद फुकुवाको निर्णय भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । “स्थानहद फुकुवा गर्ने निर्णय भएको छ,” उनले भने । आयोगले आइतबार ओलीको स्टेटमेन्ट लिएको थियो । एक अधिकारीका अनुसार ओलीले आइतबार दिएको लिखित ‘स्टेटमेन्ट’पछि स्थानहद फुकुवा गरिएको हो ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनेको थियो । उक्त आयोगले ओलीलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थानहद लगाएको थियो ।

तर, सो सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले ओलीले गरेका कामकारबाहीको सम्बन्धमा आयोगले उनीसँग सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न गरिसकेकाले उनको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ ।

“प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिदिएको छ,” आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित त्यसबेला सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूसँग पनि बयान लिएको छ । आयोग अब प्रतिवेदन लेखनमा लाग्ने जनाइएको छ ।

fukuwa-1767601648.png