जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २५, हेम्जा स्थित सडक खण्डमा सवारी दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ।
नौडाँडाबाट पोखरातर्फ आउँदै गर्दा अन्दाजी ५५ वर्षका एक पुरुषलाई ठक्कर दिई फरार भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल, पोखरा पठाइएको थियो तर, अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरी अनुसन्धानका क्रममा कार्तिक ३ गते पोखरा–१०, रंगशाला गेट अगाडि घटनामा संलग्न ग १ ज ७११० नम्बरको सुमो गाडी र चालकलाई फेला पारिएको हो ।
गाडीका चालक पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर १, भुक्कताङ्ले घर भई हाल पोखरा–१५, फूलबारीमा बसोबास गर्दै आएका २८ वर्षीय शुशिल सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।