जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सोमबार सरकार विरुद्ध ‘जेन-जी’को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

भ्रष्टाचार तथा सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी पुस्ताले काठमाडौँमा सभ्य प्रदर्शन गर्ने तयारी गरेका छन् । सेप्टेम्बर ८ अर्थात् भदौ २३ गते सोमबार काठमाडौँको माइतीघरमा पहिलो प्रदर्शन गर्न लागेका हुन् । जेन-जी पुस्ता भनेको सन् १९९७ देखि २०१२ को जन्मिएको पुस्ता हो ।

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको ‘जेन-जी’को अभियान ‘नेपाेबेब’ समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । सरकारले अन्य सामाजिक सञ्जाल बन्द गरेपछि टिकटकबाट यो अभियान चर्किएको छ । सरकारले फेसबुक ट्विटर, युट्युब लगायतका सञ्जाल बन्द गरे पनि विभिन्न माध्यमबाट चलाएर सरकारको निर्णयको प्रतिकार मात्रै गरेका छैनन्, यसका विरुद्ध सडकमै उत्रिँदै छन् ।

City Express

साथै अन्य एपहरूमा समूह बनाएर प्रदर्शनको तयारी गरिरहेका छन् । उनीहरूले पुस्तक बोकेर सडकमा ओर्लिने तयारी गरेका छन् । नेपो वेब अभियान सक्रिय एक सदस्यका अनुसार १० हजार बढी युवा स्वतस्पुर्थ सहभागी हुने देखिएको छ । उनले भने, ‘कुनै एक व्यक्ती वा समूहले भन्दा पनि भ्रष्टाचारबाट आजित भएका, सामाजिक चेत भएका जेन-जी पुस्ताकै सदस्यहरूले प्रदर्शनको रणनीतिहरू बनाइरहेका छन्, प्रदर्शनमा सहभागी हुन इच्छुकको सङ्ख्या निकै ठुलो छ, कम्तीमा १० हजार सहभागी हुने देखिन्छ ।’

अर्का एक सदस्यका अनुसार जेन-जी पुस्ताले देखेको भ्रष्टाचार, भ्रष्टाचारमा संलग्न राजनीतिज्ञहरुको परिवारको जीवनशैली, ठुला ठुला भ्रष्टाचार काण्डमा राजनीतिक संरक्षण, बेरोजगारी, नागरिक अधिकार  हननका विरोधमा प्रदर्शन गर्ने छन् । काठमाडौँ बाहेक पोखरा, चितवनमा पनि प्रदर्शनको तयारी भइरहेको जनाइएको छ ।

जेन-जी ले गर्न लागेको प्रदर्शनमा सामाजिक सञ्जालमा व्यापक समर्थन जुटेको छ । नागरिक समाज, पत्रकार, लेखक, अभियान्ताहरुले जेन-जीको प्रदर्शनलाई नयाँ पुस्ताले सुरु गरेको नयाँ क्रान्तिकारुपमा बुझ्नु पर्ने धारणा राख्न थालेका छन् ।