जन्मभुमि खबर ,
पोखरा ।
नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) सरकारको सम्पर्कमा आएको छ । एक्सको सिंगापुरस्थित कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार एक्सबाट आज इमेल प्राप्त भएको छ । उनका अनुसार, आवश्यक डकुमेन्ट प्राप्त भएपछि सूचीकरण प्रक्रिया तत्काल अघि बढाइने छ।
यता अर्को प्रमुख सामाजिक सञ्जाल फेसबुक (मेटा)बाट भने अहिलेसम्म आधिकारिक रूपमा कुनै सम्पर्क नभएको मन्त्रालयको भनाइ छ ।
‘फेसबुकले व्यक्तिगत तवरमा कसैसँग सम्पर्क ग¥यो होला, तर आधिकारिक रूपमा मन्त्रालयमा केही आएको छैन,’ ठाकुरले भने ।
नेपालमै विकास गरिएको सामाजिक सञ्जाल हाम्रो पात्रोले भने सबै आवश्यक कागजातसहितको विवरण हिजै मन्त्रालयमा उपलब्ध गराइसकेको छ । मन्त्रालयका अनुसार हालसम्म अन्य कुनै सामाजिक सञ्जाल सम्पर्कमा आएका छैनन् ।