जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बलात्कारको झुटा मुद्दाविरुद्ध पोखरा अर्घौंमा रहेको सिर्जना बहिरा आवासीय विद्यालयका विद्यार्थी आन्दोलित , छानबिन समिति गठन हुने

जन्मभुमि खबर ,

पोखरा ।

निर्दोष विद्यार्थीलाई फसाइएको गुनासोसहित पोखरा–२६, अर्घौंमा रहेको सिर्जना बहिरा आवासीय विद्यालयका विद्यार्थी आन्दोलित छन् । कक्षा ११ का विद्यार्थी विजय विश्वकर्मालाई जबरजस्ती करणीको झूटो आरोपमा फसाइएको भन्दै विद्यार्थीसँगै अभिभावकहरू पनि आन्दोलनमा सहभागी छन् ।

विजयले सात महिनासम्म जेल जीवन बिताइसकेपछि आरोप लगाउने छात्राले नै अदालतमा उपस्थित भई आफूलाई विद्यालय प्रशासनले जबरजस्ती विजयको नाम लिन लगाएको बयान दिएपछि अदालतले विजयलाई निर्दोष साबित गर्दै सफाइ दिएको थियो ।

अदालतको आदेशपछि विद्यार्थी र अभिभावकहरूले विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारीसहित पाँच शिक्षक तथा कर्मचारीको सरुवा र कारबाहीको माग गर्दै आइतबारदेखि आन्दोलन सुरु गरे । दुई दिनसम्म आन्दोलन गरेपछि अन्ततः घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन भएको छ ।

छानबिन समिति गठन गर्ने सहमतिपछि आन्दोलन पनि स्थगित भएको छ । पोखरा महानगरपालिका–२६ को वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । पोखरा २६ का वडाअध्यक्ष नरेन्द्र थापाको पहलमा भएको सर्वपक्षीय भेलामा विद्यार्थीले उठाएको मागका सम्बन्धमा छानबिन गर्न पोखरा महानगरपालिका शिक्षा महाशाखामा लेखी पठाउने सहमति भएको हो ।

योसँगै विद्यार्थीले कुनै पनि निकाय अगाडि आन्दोलन नगर्ने र शिक्षकहरूले नियमित पठनपाठन गराउने सहमति भएको छ । सिर्जना बहिरा मावि फरक प्रकृतिको विद्यालय भएकाले यहाँको समस्या समाधानका लागि आफू गम्भीर रहेको अध्यक्ष थापाले बताए ।

विद्यालय प्रशासनले अभिभावकलाई जानकारी नदिई विजयलाई प्रहरीको जिम्मा लगाएको र त्यही कारण उनले सात महिनासम्म कारागारमा बस्नुपरेको थियो । विद्यार्थीहरूले भोली आफूहरू पनि यसैगरि फसाइन सक्ने भन्दै यस्ता घटनाको तुरुन्त छानबिन र दोषीमाथि कारबाही माग गरेका हुन् ।