जन्मभुमि खबर ,
पोखरा ।
मुग्लिन–पोखरा सडकखण्डस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरानजिक बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस आइतबार दिउँसो ऐना पहरामा दुर्घटना भएको थियो ।
दुर्घटनामा हालसम्म ७ घाइतेको उद्धार गरिएको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको थापाले बताए ।
यात्रु झारेर बस रोकेको चिप्लिएर सडक दुर्घटना भएको थापाको भनाइ छ ।
‘बस रोकेर ऐना पहरा हेर्ने क्रममा चिप्लिएर दुर्घटना भएको रहेछ । केही यात्रु मात्र बसभित्र हुनुहुने रैछ,’ उनले भने, ‘अहिलेसम्म ७ जनालाई उद्धार गरेका छौं । २ जनाको अवस्था गम्भीर छ ।’ बसको अगाडिको भाग पानीमा डुबेकाले थप यात्रु पनि हुने सक्ने थापाले बताए ।
उक्त दुर्घटनामा घाइते हुनेहरुमा गोरखाको सहिद लखन गाउँपालिका–६ बस्ने ४० वर्षीय सुनु थापा, गोरखा नगरपालिका–९ बस्ने ५४ वर्षीय सनबहादुर गुरुङ, सहिद लखन गाउँपालिका बस्ने ४३ वर्षीया सीता थापा, सोही ठाउँ बस्ने २८ वर्षीया मिना थापा मगर र तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौर बस्ने सात वर्षीय खुसीराम रामदाद रहेको प्रहरीले जनाएकाे छ । घाइतेमध्ये एक जनालाई थप उपचारका लागि चितवन पठाइएकाे छ । बाँकीको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।