कास्कीमा राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहको समय विस्तार , बिहान ८ बजेदेखि सेवा दिइने
जन्मभुमि खबर ,
पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहको समय विस्तार गरेको छ। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सेवाग्राहीको चाप थेग्नै नसक्ने गरी बढेकाले कार्यालयले साउन २२ गतेदेखि बिहान ८ बजेबाटै सेवा सुरु गर्ने निर्णय गरेको हो।
सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र आफ्नो भत्ता परिचयपत्र नवीकरण गराइसक्नुपर्ने प्रावधान छ। यस वर्षदेखि नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउने सर्वसाधारणको संख्या ह्वात्तै बढेको प्रशासनले जनाएको छ ।
