जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घान्द्रुक, सिक्लेस र ताङतिङ सडकमा राति सवारी आवागमनमा रोक, राजमार्गमा तयार राखियो डोजर

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीका पर्यटकीय गाउँहरु घान्द्रुक, सिक्लेस र ताङतिङ जाने सडकमा रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ ।

बर्षासँग आउने बाढी र पहिरोको जोखिम भएकाले रातीको समय उक्त गन्तव्यमा सवारी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त गन्तव्यमा जाने मोटरबाटो बाढी र पहिरोको जोखिम भएकाले रातको समय सवारी चलाउन रोक लगाएको कास्कीकी सिडिओ रुद्रादेवी शर्माले बताइन् ।

उनका अनुसार कास्कीको विरेठाँटीदेखि उल्लेरी, घान्द्रुक, लुम्लेदेखि लान्द्रुक, पोखराको काहुँखोलादेखि सिक्लेस र ताङतिङ जाने बाटो निगरानीमा राखिएको छ। यी सडकबाट जाने सवारी साधन गन्तव्यका लागि साँझ ५ बजेभित्र छुटिसक्नुपर्नेछ। पर्यटकीय गाउँहरु घान्द्रुक, सिक्लेस, ताङतिङ र लान्द्रुकबाट पोखरा वा अन्य गन्तव्यमा जाने सवारी पनि साँझ ५ बजेभित्र छुटिसक्नुपर्ने प्रशासनले जनाएको छ ।

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर, घोरेपानी पुनहिल, मुल्डे भ्यु हुँदै खोप्रा र हिडनलेक जाने पदमार्गको प्रस्थानविन्दु हो भने सिक्लेसबाट कफुचे हिमताल र कोरी यात्रा गर्ने प्रस्थान विन्दु हो । अहिले मनसुनका बेलामा पनि पदमार्गमा पर्यटकहरु जाने गरेका छन् ।

ताङतिङबाट क्रपुडाँडा लगायतका स्थानमा पदयात्रा गर्न सकिन्छ। पर्यटक एवं पदयात्रीको सुरक्षाका लागि रातको समयमा सवारी साधन चलाउन रोक लगाइएको हो । कास्कीका जिल्ला समन्वय समितिदेखि सुरक्षा निकाय, यातायात व्यवसायी लगायतसँग बैठक राखेर ७ देखि १५ दिनका लागि यी गन्तव्यमा जाने सडकमा राती सवारी चलाउन रोक लगाएको कास्कीका सहायक सिडिओ शिव लम्सालले बताए ।