जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

उनी सोमबार बिहान अदालतमा हाजिर भएका थिए।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन्।

तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनीहरू मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन्।

चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो। हाजिर जमानीमा राखिएका उनीसहितलाई मुद्दा दर्ता गर्न जेठ ११ गते प्रहरीले सम्पर्क गर्ने प्रयास गरेको थियो।

तर उनी सम्पर्कमा आएका थिएनन्।

सम्पर्कमा नआएपछि प्रहरीको अनुसन्धान अधिकारीले राणाका स्वकियलाई जरिवाना समेत तोकेको थियो।

गत बिहीबार मध्यराति जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। बाँकीलाई धरौटीमा छाड्न आदेश दिएको थियो।