जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुरु भयो स्वाँतका भिरमा यस यामको ‘हनिहन्टिङ’

जन्मभुमि खबर ,
पोखरा ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतमा भिर मौरीको मह शिकार सुरु भएको छ, जसमा स्थानीयको सामूहिक सहभागिता रहेको छ।

यस वर्ष वर्षाका कारण मह कम उत्पादन भएको छ, तर स्थानीयले पुरानो चलनलाई निरन्तरता दिँदै युवा पुस्तालाई सीप हस्तान्तरण गरेका छन्।
मह शिकारलाई व्यवस्थित, सुरक्षित र पर्यटनसँग जोड्ने योजना रहेको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ।

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरूमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौ अघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ ।

डोरीमा झुन्डिएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी भएका थिए । अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई सङ्कलन, प्रारम्भिक प्रशोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए । महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यस सम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन् ।

स्वाँतबासीहरु घरको काम सकेर दिनभर महशिकार अवलोकन गर्न छहरे भिर गएका थिए । महशिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ नहोस् भन्ने कामना गर्दै पूजाआजा गरिएको थियो । गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपालि पाँच गुणा कम मह उत्पादन भएको छ ।

केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको शिकारी पाइजाले बताए । छहरीको भिरमा ११ वटा गोला थियो । बुधवार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा महशिकार गर्ने तयारी छ । त्यहाँ करिब २० वटा गोला छन् ।

खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिर मौरीको वासस्थान हुन्छ । वन जङ्गलमा फुल्ने फुल भिर मौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइसराइ गर्छन् । मह शिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए । काठमाडौँका सागर पराजुलीले रसीमा झुन्डिएर भिरबाट मह निकालेको साहसिक दृश्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए ।

‘मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको डरलाग्दो भिरमा झुन्डिएर मह निकालेको पहिलो पटक देख्दा शरीर नै जिरिङ्ग भयो,’ उनले भने, ‘भिर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ ।’

भीरमा भीर मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिर मह निकाल्न उपयुक्त समय हो ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ गरिन्छ ।

चौध वर्षदेखि महशिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाइबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताए । ‘आठ दश वर्ष अघिसम्म शिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,’ उनले भने, ‘अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ ।’

स्वादिलो, स्वास्थ्यका लागि हितकर भिर मह शक्ति वद्र्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए । मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्त्व छ । विदेश गएका र सहरमा बस्नेहरूले भिर मह कोशेलीका रूपमा लैजाने गर्छन् ।

स्वाँतका सबै भिरबाट निकालिएको मह सङ्कलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ । पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरुलाई तीन वर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ । गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ ।

स्वाँतको भिर महको मूल्य प्रतिलिटर रु. तीन हजार कायम गरिएको छ । बसाई सरेर बेनी, पोखरा, काठमाडौँ, चितवन गएकाहरू मह शिकार गर्ने समयमा स्वाँत आउँछन् । पोखरामा बस्दै आएकी स्वाँतकी चन्द्र पुनले महशिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक वर्ष गाउँमा आउने गरेको बताए । स्वाँतमा बस्ती बसे देखिनै मह शिकार गर्ने चलन रहेको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले मह शिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यावसायिक बनाउँदै पर्यटनसँग जोड्ने योजना रहेको बताए । मह शिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रूपमा प्रशोधन र भण्डारण गरी बजारीकरणको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए ।