जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुधार केन्द्रमा भर्ना भएका युवकमाथि निर्घात कुटपिट (भिडिओ सहित )

जन्मभुमि खबर ,
पोखरा ।

रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले राखिएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।

कबिर चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानवी तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो । सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । गौरका युवा अभिमन्यु पटेलले यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना गरेका छन् ।

अर्का युवा सन्जय सहनीले स्थानीय प्रशासनले गम्भीर विषयलाई तत्काल प्राथमिकतामा राखेर सुधार केन्द्रका संचालकहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताए । सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका थिए ।

त्यहाँ राखिएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ । जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले घटनाको यथार्थ विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए । उनका अनुसार कार्यालयबाट डिएसपी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटबाट पनि सहायक सिडिओ नेतृत्वको टोली खटिएको छ । तीन जनाले एक व्यक्तिलाई लडाएर समाउँछन् भने अर्का एक व्यक्तिले पैतलामा लट्ठीले कुटपिट गरेको देखिन्छ । भिडिओमा कुटपिटबाट व्यक्ति कराएको आवाज नसुनिओस् भन्ने हिसाबले पृष्ठभूमिमा संगीत बजाएको बजाएको सुनिन्छ ।

उक्त भिडिओ कहिले खिचिएको भन्ने खुलिसकेको छैन ।