जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आइतबार सम्म फिर्के खोलाका २६ संरचना हटाइयो

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव क्षेत्र (खोलाघर) मा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।

यही असोज १५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म १२ स्थायी र १४ वटा अस्थायी संरचना हटाइएको महानगर प्रमुख धनराज आचार्यले बताए । गत जेठदेखि सुरु गरिएको खोलाघर खाली गर्ने अभियानअन्तर्गत सम्बन्धित घरधनीलाई आफ्ना संरचना आफैँ खाली तथा हटाउन अन्तिम अवसर दिइएको थियो ।

सो अवधिमा पनि खाली नभएका वा हटाउन नसकिएका संरचना महानगरपालिकाले अहिले क्रमशः हटाइरहेको हो । फिर्के खोलाको खोलाघरभित्र निर्माण भएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले आफैँ हटाउने भनी महानगरपालिकासमक्ष मौखिक सहमति जनाएका थिए तर सहमतिअनुसार संरचना नहटाएपछि महानगरपालिकाले हटाउने कार्य पुनःअघि बढाएको थियो ।

प्रमुख आचार्यले फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण र व्यवस्थित सहरी विकासका लागि अभियानलाई निष्कर्षमा पुर्‍याइने ब‍ताए ।  “खोलाघर संरक्षण पोखराको दीर्घकालीन हितसँग जोडिएको विषय हो । अभियानलाई सफल बनाउन सबैपक्षको सहयोग आवश्यक छ”, उनले भने ।
महानगरका अनुसार खोलाघरभित्र रहेका बाँकी संरचना पनि क्रमशः हटाउँदै गाईघाटसम्म पुगेर अभियान सम्पन्न गरिनेछ । महानगरले अभियान सफल बनाउन नगरवासी, सरोकारवाला तथा सम्बन्धित पक्षलाई सहयोग, समन्वय र सहजीकरणका लागि आग्रह गरेको छ ।

खोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षणसँगै बाढी तथा डुबानको जोखिम न्यूनीकरण र व्यवस्थित सहरी विकासमा अभियान महत्त्वपूर्ण हुने महानगरले जनाएको छ ।

पोखरा महानगरपालिका-१८, २, ४, ५, ७, ८, ६ र १७ भएर बगेर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । फिर्के कम्तीमा तीन मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको पोखरा महानगरले गरेको नापजाँच प्रतिवेदनमा उल्लेख छ ।

फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भ गाडिएका छन् । महानगरले फिर्के खोलाघरभित्रका संरचना हटाएपछि फिर्के करिडोर परियोजना अघि बढाउने योजना बनाएको छ ।