जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाल मन्दिरको जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दायर

जन्मभुमि खबर ,

पोखरा ।

नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला सरकारकारी वकिल कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।

वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यलगायत १७ जनाविरुद्ध मुद्दा दायर भएको छ । अदालतमा वैद्य, गणेशभक्त श्रेष्ठ,  नारायण श्रेष्ठ, श्यामकुमार आलेलगायतलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो ।

वैद्य बाल संगठनको अध्यक्ष हुँदा सो जग्गा लिजमा दिने निर्णय भएको थियो । यो प्रकरणमा ६० करोडभन्दा धेरै रकमको बिगो दाबी गरिएको छ । यो प्रकरणको प्रहरी अनुसन्धान गरी अगाडि बढाएको हो ।

सीआईबीले यो कसुरमा २० जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको थियो । तीमध्ये तीन जनाको मृत्यु भइसकेको पाइएको छ । मृत्यु भएको भन्दै तीन जनाको हकमा मुद्दा नचल्ने निर्णय गरिएको छ ।

मृत्यु भएका कारण मुद्दा नचल्नेहरूमा बृहस्पती विद्यालय व्यवस्थापन प्रालि (वृहस्पती विद्यासदन)का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरन्जिवि तिवारी, नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्यविरुद्ध मुद्दा नचल्ने निर्णय भएको अभियोगपत्रमा उल्लेख छ ।