पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
जन्मभुमि खबर ,
पोखरा ।
तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति जम्मा ४४।६६ प्रशित पुगेको छ । पोखरा–मुग्लिन सडकमा पर्ने उक्त पुलको ठेक्का अवधि आगामी भदौमा सकिँदै छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो ।
‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चारवटा जगको काम पूरा भएको उनले जानकारी दिए । तीनवटा टावर निर्माण भइसकेको र एउटा निर्माणका क्रममा रहेको प्रमुख कुँवरले बताए । आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने प्रमुख कुँवरले बताए।
पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको ‘लाइफ लाइन’का रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ ।
कुल ४१.४५ किमी दूरीको पूर्वी खण्डमा तीन किमीमात्र कालोपत्र हुन बाँकी छ । कुल ३८.८८ किमी दूरीको पश्चिम खण्डमा हालसम्म ३५.५ किमी एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको प्रमुख कुँवरले बताए। ‘करिब तीन किमी सडक एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमी दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ’, उनले भने,’आउँदो असारभित्रमा ३० किमी दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।’