जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी चढेको गाडी दुर्घटना, कानुन अधिकृतको मृत्यु ६ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

उदयपुरमा स्कार्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको ज्यान गएको छ ।

दुर्घटनामा दमक नगरपालिकाकै कर्मचारी र जनप्रतिनिधि गरी ६ जना घाइते भएका छन् ।

दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको मे १ च ३०४० नम्बरको गाडी बिहीबार दुर्घटनामा परेको थियो ।

चितवनबाट झापातर्फ जाँदै गरेको सो स्कार्पियो गाडी उदयपुरको कटारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आज दिउँसो झन्डै साढे ४ बजेतिर मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर जिल्लाको  कटारी नगरपालिका-६ सोमबारेमा स्कर्पियो दुर्घटना भएको हो ।

आफैँ अनियन्त्रित भएको स्कारपियो सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय बस्नेतको प्रादेशिक अस्पताल कटारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइतेहरूमा सवारी चालक दमक नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका १० बस्ने वर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक १ बस्ने वर्ष ४५ को ज्ञानेन्द्र गौतम,  दमक नगरपालिका ६ बस्ने वर्ष ५४ को कमल श्रेष्ठ, दमक २ बस्ने वर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका १ बस्ने वर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए ।