जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु, कार चालक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर नगरपालिका- ४ मा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नेत्रमणी गिरीले जानकारी दिए ।

मृत्यु हुनेमा रौतहटकै गरुडा नगरपालिका- ३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनी छन् । तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

‘चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो,’ डीएसपी गिरीले भने, ‘कार चालक हेटौँडा- १२ घर भएका ४३ वर्षीय कुमार पोखरेललाई पक्राउ गरिएको छ ।’

मोटरसाइकल चालक बलिरामको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि सवार उनकी छोरी ४० उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डीएसपी गिरीले बताए ।