जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रविविरुद्ध ज्यादती भएको भन्दै मानव अधिकार आयोग पुग्यो रास्वपा

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपा मानव अधिकार आयोग पुगेको छ । पार्टीले बुधबार आयोग पुगेर लामिछानेमाथि सरकार पक्षले गरेको गैरकानुनी व्यवहारबारे ध्यानाकर्षण गराएको हो ।

आयोगमा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार, बागमती प्रदेश सभापति अच्युतम लामिछाने, केन्द्रीय सदस्य प्रमिला कुलुजु लगायत नेताहरु पुगेर ध्यानाकर्षण गराएका हुन् ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुपक्र्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । आदेश आएको १ घण्टा पनि नबित्दै प्रहरीले बुढानिलण्ठस्थित उनको निवास घेरेको थियो ।

पक्राउ पुर्जी समेत नलिई पुगेका प्रहरीहरु लामिछानेको बेडरुममा समेत प्रवेश गरेका थिए । लामिछानेले आफू गिरफ्तारी दिने बताउँदा बताउँदै प्रहरीको सो व्यवहारबारे रास्वपाले खेद प्रकट गरेको छ ।

त्यस्तै पक्राउ गर्न आएको प्रहरीले  अन्तिम इच्छा भन्दै गरेको प्रश्नलाई लिएर चौतर्फी आलोचना भइरहेको  बेला पार्टीले आयोगको ध्यानाकर्षण गराएको हो ।

त्यसो त रास्वपाले गत मंसिर २३ गते पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट मध्यरातमा पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको थियो ।

रास्वपाले राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगको ध्यानाकर्षण गराएको थियो ।

त्यती मात्रै नभएर सोही समयमा लामिछानेकी पत्नी निकिता पौडेलले समेत लामिछानेमाथि सरकारले गैरकानुनी व्यवहार देखाएको भन्दै आयोगको ध्यानाकर्षण गराएकी थिइन् ।