जन्मभुमि खबर ,
पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।
उपसमितिका संयोजक सांसद राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमिता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अध्ययन गर्न र दोषीलाई कारबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि विभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको बताए । १४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्याइएको उनले बताए ।
विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिले निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको हो ।
अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको, निर्माण कार्यक्रममा कमसल सामग्री प्रयोग गरिएको लगायत भ्रष्टाचारका काम देखिएको लिङ्देनले बताए ।
उपसमितिले विमानस्थललाई पूर्ण रूपमा निर्माण गरेर व्यावसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ ।
पोखरा विमानस्थल निर्माणका लागि सरकारले चिनियाँ एक्जिम बैंकबाट महँगो ब्याजमा करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो।
२०७२ चैत ८ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भई २०७३ पुस २७ बाट निर्माण सुरु भएको थियो।
२०७९ पुस १७ मा यो विमानस्थल उदघाटन गरिएको थियो। उद्घाटनको २७ महिना हुँदा समेत विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।