जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धवल शमशेर र रविन्द्र मिश्रलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शमशेर राणालगायत अन्य पक्राउ परेकाहरू २० जनालाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गरेको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न राणासहित २० जनालाई थप अनुसन्धान गर्न १५ दिनको म्याद थप भएको जानकारी दिए ।

यसअघि दिएको म्याद सकिएपछि प्रहरीले मंगलबार उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो । अपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अन्य व्यक्तिहरूलाई भने २० दिनको म्याद थप भएको छ ।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुईजनाको ज्यान जानुको साथै थुप्रै निजी सम्पत्तिमा क्षति पुगेको थियो। प्रदर्शनकारीले मिडिया लक्षित आक्रमणसमेत गरेका थिए।