जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

जन्मभुमि खबर ,

पोखरा ।

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइपुर्‍याइएको छ। काँकटभिट्टा नाकाहुँदै झापा ल्याइएका उनलाई भद्रपुर विमानस्थलबाट बुद्धएयरको जहाजमार्फत् काठमाडौं ल्याइएको हो। उनलाई म्याद थपका लागि  जिल्ला अदालत काठमाडौं लैजाने प्रहरीको तयारी छ।

उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो ।

विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न प्रसाईंलाई  म्याद थपका लागि अदालत लगिने जानकारी दिए। उनले भने,’प्रसाईंविरुद्ध राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता भएको छ। सोही कसूरमा अनुसन्धान गर्न प्रसाईंलाई अदालत लैजाने तयारी छ।’

राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खडकालाई पनि काठमाडौं ल्याइएको छ। दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रसाईंसँगै खड्का पनि भेटिएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको हो। प्रसाईं चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए। प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो।