जन्मभुमि खबर ,
पोखरा ।
तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन् ।
भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ ।
उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ । तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको बताए ।
प्रसाईसँगै भागेका उनका सहयोगीहरू भने आफै नेपाल फर्कँदै छन् ।
प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो । उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
प्रसाई भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो । विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियोर । प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जाल समेत नचलाएर गुपचुप बसेका थिए ।
तर, हिजो बुधबार मात्र उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।