जन्मभुमि खबर ,
पोखरा ।
आज १९ औँ लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
आजको दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।
आज लोकतन्त्र आएको १९ वर्ष पूरा भएको छ ।
सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२-६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनः स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनः स्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।
यद्यपि, लोकतन्त्र स्थापनापछि राजनीतिक दल तथा तीनका नेताहरूको कार्यशैलीका कारण आम जनतामा आक्रोश बढ्न थालेको देखिएको छ । अपेक्षाकृत विकास तथा सुशासन कायम हुन नसकेको भन्दै दल र नेताहरूको आलोचना बढिरहेको छ ।