जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

९ दिनपछि भेटियो त्रिशुलीमा खसेका लमजुङका रोहितको शव

जन्मभुमि खबर ,
पोखरा ।

त्रिशूली नदीमा एक शव फेला परेको शव ९ दिनअघि मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित रानाकै भएको पुष्टि भएको छ ।

आइतबार (आज) बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ कालिखोला जलविरे स्थित त्रिशूली नदीको किनार शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो। उक्त शव नदीबाट बाहिर निकालेर हेर्दा रोहितकै भएको भनेर परिवारले पुष्टि गरेकोे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक लक्ष्मण केसीले जानकारी दिए। रोहित बुवा अशोक राना सहति परिवारका सदस्यहरु पनि शव भेटिएको स्थलमा आएका थिए ।

नदीबाट बाहिर निकालेपछि शव रोहितकै भएको पुष्टि गरिएको उनले बताए। फागुन २ गते शुक्रबार बिहान ११ः३० बजेतिर लमजुङको सुन्दबजार गाउँपालिका–३ चन्द्रेश्वर स्थायी घर भएका २७ बर्षका रोहित राना नारायणगढ–मुग्लिङ सडकखण्ड अन्र्तगत पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ चट्टानेभीरमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाईकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा बेपत्ता भएका हुन्। राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै थियो। सडकको छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा राना उछिट्टिएर त्रिशूली नदीमा पुगेका हुन । भारतीय सेनामा कार्यरत राना गोर्खाली राइफल म्यान हुन् भने उनी ददुर्घटना हुनु भन्दा एक साता अघि मात्रै नेपाल आएका थिए। लमजुङको सुन्दरबजार नगरपालिका–३ चन्द्रेश्वर स्थायी ठेगाना भएका रानाको परिवार विगत दुई दशकदेखि चितवनको भरतपुर महानगरपािलका–१ रामनगरमा बस्दै आएका थिए। उनको शव पोष्टमार्टमको लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।