जन्मभुमि खबर ,
पोखरा ।
स्याङ्जामा ट्रकभित्र मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए ।
उनका अनुसार राति सवा १० बजे वालिङ नगरपालिका-८ डुम्रिकोटस्थित सिद्धार्थ राजमार्गमा वालिङबाट भकुण्डेतर्फ जाँदै गरेको ग१ख ९४७२ नम्बरको ट्रकलाई लु६-प ८०७६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको थियो ।
ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकको बीचमा पसेको प्रहरीले जनाएको थियो। मृतक गुरुङ मोटरसाइकलको पछाडि सवार थिए ।
ट्रक चालक पर्वत कुश्मा नगरपालिका-१२ का ३९ वर्षीय दिवाकर लामिछाने र मोटरसाइकल चालक वालिङ नगरपालिका-८ का १७ वर्षीय हेमन्त राना प्रहरीको नियन्त्रणमा छन् ।