जन्मभुमि खबर ,
पोखरा ।
खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठूलाढुंगा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुश्मा–१४ बगाल थोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल रहेका छन् ।
उनीहरुले गत माघ २९ गते वनमा आगो लगाएका थिए । वनमा आगो लगाउँदा वनजङ्गल, वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीको टोलीले दुई युवालाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिए ।