जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वृद्धभत्ता बुझेर फर्किने बेला गोरखामा भिरबाट लडेर मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

गोरखामा वृद्धभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ । भीमसेन थापा गाउँपालिका– ४, कासिखोलाका ७५ वर्षीय चुडामणि काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नवीन गिरीले आइतबार घरबाट वृद्धभत्ता बुझ्न निस्किएका काप्री घर नफर्किएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको जानकारी दिए ।

उनका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उनको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।

काप्रीको शव बाटोदेखि झण्डै २ सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए । ‘वृद्धभत्ता बुझेर घर नफर्किएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौँ । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो,’ उनले भने ।

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।