जन्मभुमि खबर ,
पोखरा ।
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ । बुधबार अबेर बेलिया नाका हुँदै उनको शव भैरहवास्थित घरमा ल्याइएको हो ।
आज बुधबार अपराह्न ५ बजे गोरखपुर ल्याइएको प्रकृतिको शवलाई राति ९ बजे भैरहवा ल्याइएको छ । केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी २१ वर्षीया प्रकृति लम्सालको शव दाहसंस्कारको लागि भैरहवास्थित घरमा ल्याइएको हो । प्रकृतिका बुवा सुनील लम्साललगायत शव लिएर बिहान १० बजे भारतको ओडिसास्थित भुवनेश्वरबाट हिँडेका थिए । प्रकृतिको शव विश्वविद्यालयको छात्रावासमा भेटिएको थियो ।
प्रकृतिको शव भैरहवास्थित घर ल्याएपछि प्रकृतिको शव आज भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिनेछ ।
केआईआईटीको होस्टलमा आइतबार लम्सालको शव फेला परेको थियो । उनलाई सोही विश्वविद्यालयकै एक् छात्रले ब्ल्याकमेल गरेको बताइएको छ । ती आरोपितलाई भारतीय प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
उनको मृत्युपछि नेपाली विद्यार्थीहरूलाई सुरुमा विश्वविद्यालयले निकालेको थियो । पछि नेपाल सरकारको पहल र हस्तक्षेप हुँदा विश्वविद्यालयले माफी मागेको थियो । यो प्रकरणमा विश्वविद्यालयका केही कर्मचारीहरू पनि पक्राउ परेका छन् ।