जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बेलुन विस्फोट घटना : मेयर आचार्यलाई केही दिन अस्पतालमै राखिने , अर्थमन्त्री डिस्चार्ज

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पतालका निर्देशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्ति जारी गर्दै अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने निर्णय भएको जानकारी दिए ।

सँगै उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा आगोमा बेलुन पड्किँदा पौडेल र आचार्य घाइते भएका थिए ।

‘आज मिति २०८१ फाल्गुण ०५ गते सोमबार यस अस्पतालमा गत २ दिन देखि उपचार गराई रहनु भएका माननीय उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेलज्यू र पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यज्यू को स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराईन्छ । दुबै जनाको जलनको घाउ निको गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यज्यूको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराइन्छ ।’

संक्रमण बढ्ने जोखिम भएकाले आचार्यलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ ।