जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बिस्फोट भएको बलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिकलाई हाजिरी जमानीमा छाड्न आदेश

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिकलाई हाजिरी जमानीमा छाड्न आदेश भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ परेका ४१ वर्षीय कमलेस कुमारलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी बसन्त शर्माले जानकारी दिए ।

गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन बिस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरिएको थियो ।

कमलेश कुमारले ग्यास भर्न प्रयोग गरेको हाइड्रोजनको सिलिन्डर प्रहरीले बरामद गरेको छ । उनले ग्यास भर्न अनुमति नलिएको एसपी ओलियाले जानकारी दिए । प्रहरीले बरामद गरेको सिलिन्डर पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा बुझाएको छ । आरोपीलाई आइतबार सो कार्यालयमा उपस्थित गराउने ओलियाले जानकारी दिए ।

हाइड्रोजन भरिएको बेलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य आज डिस्चार्ज भएका छन् ।