टाइगर कप भलिबलः गण्डकी र हेल्प नेपालबीचको खेल स्थगित
पाँचौँ टाइगर कप भलिबलअन्तर्गत टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचको खेल स्थगित भएको छ ।
सोमबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा खराब प्रकाशका कारण हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकीबीचको खेल स्थगित भएको हो । हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २७–२५ को जित निकालेको थियो । त्यसपछि खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो ।
‘हार्ने समूह’ समूहबाट शीर्ष स्थानमा रहने टिम इलिमिनेटर खेल्नेछ । उक्त समूहमा गण्डकी, हेल्प नेपाल र विभागीय टिम एपीएफ क्लब छन् । यीमध्ये एक टिमले मात्रै इलिमिनेटर खेल्नेछन् । दुई टिम भने प्रतियोगिताबाट बाहिरिनेछन् । यसअघि पुरुषतर्फ भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिता १९ माघसम्म चल्नेछ ।