जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको बाल सुधार गृहबाट बालबन्दी फरार

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, सराङकोटमा रहेको बाल सुधार गृहबाट आइतबार एक बालबन्दी फरार भएका छन् । आइतबार बिहान साढे ७ बजेतिर एक १७ वर्षीय बालक फरार भएका हुन् ।

सुधार गृहका प्रमुख डाँसीराम रेग्मीले बिहानै बालबन्दी फरार भएको र सम्पर्कमा नआएको जानकारी दिए । “आइतबार बिहान साढे ७ बजेतिर बालगृहको पर्खाल नाघेर बालबन्दी फरार भएपछि खोजी जारी छ,” उनले भने ।

सुधारगृहको पछाडितिरको पर्खाल नाघी बालबन्दी जङ्गलतर्फ भागेको रेग्मीले उल्लेख गर्नु भयो । रामेछाप घर भएका ती बालबन्दी २०८२ जेठ ४ गते बाल सुधारगृह चलान भएका थिए ।

आइतबार फरार बालबन्दीसहित अब नौ जना बालबन्दी फरार छन् । गत वर्षको जेनजी आन्दोलनका बेला भदौ २४ गते एक सय नौ जना बालबन्दी फरार भएका थिए । तीमध्ये आठ जना अझै फर्किएका छैनन् । अहिले सुधार गृहमा ९४ बालक छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले फरार बालबन्दीको खोजी भइरहेको बताए ।

उनलाई दुई वटा चोरी मुद्दामा अदालतले बाल सुधारगृह पठाएको हो । एउटामा दुई वर्ष सजाय तोकिएको छ भने अर्कोमा पुर्पक्षको आदेश भएको छ ।

प्रहरीका अनुसार फरार बालबन्दीको वर्ण गोरो, उचाइ करिब ५ फिट १ इन्च र शरीर मोटो छ । निधारमा खत भएका उनले फरार हुँदा खल्ती भएको कालो जिन्स पाइन्ट र निलो–कालो कोठे सर्ट लगाएका थिए ।

यसअघि यिनै बालबन्दी उपचारका लागि अस्पताल लैजाने क्रममा फरार भएका थिए । बिरामी परेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा प्रहरीलाई नै छक्याउँदै उनी भाग्न सफल भएका थिए ।

२०८२ पुस २४ गतेबाट फरार भएका उनी २०८३ जेठ ४ गते इटहरीबाट पक्राउ परेका थिए ।

उनलाई पक्राउ गरी सराङकोट लगिएको थियो । उनै बालबन्दी आइतबार फेरि भाग्न सफल भएका छन् । प्रहरीले उनलाई छिट्टै पक्राउ गर्ने दाबी गरेको छ ।

यी बालबन्दी पाँचथरमा पनि चोरी कसुर गरेरै पोखरा आइपुगेका थिए । पोखराको एक होटलमा काम गर्दागर्दै उनले फेरि चोरी गरेका थिए । चोरी मुद्दामा उनलाई पक्राउ गरी बाल सुधारगृह पठाइएको थियो ।