जन्मभुमि खबर ,
पोखरा ।
सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गमा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ नयाँ पुल निर्माण भइरहेका छन् । अपस्ट्रिम र डाउनस्ट्रिम नामका दुवै पुल १९० मिटर लम्बाइका छन् । पुल निर्माणका लागि २०७९ साल भदौ २६ गते रु एक अर्ब सात करोडमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सम्पन्न भइसकेको छ भने चारवटा टावर (पाइलन) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब मुख्य रूपमा स्टे केबलमा तनाव दिने (स्ट्रेसिङ) काममा ध्यान केन्द्रित गरिएको छ ।
त्यसैगरी, सेती नदीको उत्तरी भागमा सडक पहुँच व्यवस्थापन, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी समस्याले पनि निर्माणमा अवरोध सिर्जना गरेको थियो । एसियाली विकास बैंकको नीतिअनुसार सम्बन्धित जग्गाधनी तथा व्यवसायीलाई सडक पहुँच उपलब्ध गराउनुपर्ने भएपछि दुईवटा घर भत्काउनुपरेको थियो ।
“जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मानेका थिएनन् । लामो प्रयासपछि उनीहरू सहमतिमा आए । अब पुलको माथिल्लो भागमा समेत काम गर्न समस्या छैन”, कुँवरले भने ।
हालको पुल २०३२ मा निर्माण गरिएको हो । यो पुल साँघुरो भएपछि त्यसको दायाँ र बायाँतर्फ थप एक–एकवटा पक्की पुल निर्माण थालिएको हो ।