पोखरामा मंसिर १ देखि किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने
जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा नेपालका उत्कृष्ट ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा गण्डकी प्रदेश, कोसी प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतियोगितामा सहभागिता रहने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।
एउटा टिमले तीनजना विदेशी खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको उनले बताए । प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ, उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले एक लाख र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।