जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका–२६, सक्नेरी स्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुई बालक बगेर बेपत्ता भएका छन् ।
शनिबार दिउँसो करिब १ बजे पोखरा–२६ कै विजयबस्तीबाट विजयपुर खोला तरेर सक्नेरी तर्फ आउने क्रममा करिब १४÷१५ वर्ष उमेरका दुई बालकलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।
बेपत्ता भएकामध्ये एक जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा १४ छिन्नेडाँडा आर्मी पल्ट्रिङमा बस्ने १४ वर्षका निकसन गुरुङलाई खोलाले बगाएको पुष्टि भएको हो । उनका बुवा चन्द्र बहादुर गुरुङ दिउँसो करिब २ बजेर ४५ मिनेटमा प्रहरीको सम्पर्कमा आएपछि निकसनको पहिचान खुलेको हो । अर्का बालकको भने अझैसम्म नाम र ठेगाना खुल्न सकेको छैन ।
टोलीले विजयपुर खोलामा बेपत्ता बालकको खोजी गर्नुका साथै घटनाबारे थप जानकारी संकलन गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारका लागि घटनास्थलमा पुगेको छ ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमान्डमा ७ जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रामजी देवकोटाको कमान्डमा ७ जना र वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको कमान्डमा ७ जना प्रहरी परिचालन गरिएको छ।
त्यस्तै, सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमान्डमा ९ जनाको गोताखोर टोलीसमेत खोजी तथा उद्धारका लागि परिचालन भएको छ ।