स्वदेश फर्किए देउवा
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
उनी छ महिनामा स्वदेश फर्किएका हुन्। देउवा मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।
कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति देउवालाई विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गरेका छन् ।
कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला भएका छन् ।
स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए। उनी थप उपचारका लागि भन्दै सिंगापुरबाट हङकङ पुगेका थिए ।
देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुगेका छन् ।
देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेता–कार्यकर्ताले सांस्कृतिक बाजागाजासहितको झाँकीले स्कर्टिङ गरेर लैजाने तयारी छ ।