फिर्ता पठाइएको ‘गाँजासम्बन्धी विधेयक’ प्रमाणीकरण
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशसभाले सर्वसम्मतिले पारित गरेको विधेयक पुनर्विचारका लागि फिर्ता पठाएका गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले अन्ततः विधेयक पारित गरेका छन् ।
गत असार २५ गते प्रदेशसभाबाट पारित भएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रदेश प्रमुख भट्टले संघीय कानुनसँग बाझिने भन्दै पुनर्विचारको लागि साउन ८ गते फिर्ता पठाएका थिए । गण्डकीमा विधेयक फिर्ता भएको यो पहिलो घटना थियो ।
विधेयक फिर्ता आएपछि साउन १५ गते प्रदेशसभा बैठक बोलाइयो । यो बैठकले विधेयकलाई हुबहु पारित गरेपछि बल्ल प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले एक विज्ञप्ति जारी गर्दै सोमबार उक्त विधेयक पारित भएको जनाएका हुन् ।
विधेयक प्रमाणीकरणसँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती, यसको नियमन, उत्पादन, उपयोग तथा व्यवस्थापनसम्बन्धी कानुनी आधार तयार भएको छ ।
प्रदेश सभाले भने प्रदेशको अधिकार क्षेत्रभित्र रहेर विधेयक बनाइएको निष्कर्ष निकाल्दै जस्ताको तस्तै पुनः पारित गरेको थियो। उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले त्यसबेला ‘प्रदेशको एकल अधिकारभित्र पर्ने विषयमा संविधानले नै व्यवस्था गरेको छ। पुनः संशोधन गरिरहनुपर्ने अवस्था छैन,’ भन्दै विधेयक यथावत् पारित गर्न प्रस्ताव गरेकी थिइन्।