जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मापसे गरेर विद्यालयको भ्यान चलाउँदा पोखरामा दुर्घटना, दुई विद्यार्थी घाइते ( अपडेट )

पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना भएको छ। दुर्घटनामा दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् भने चालकलाई प्रहरीले पक्राउ गरेको छ। हेप्पी बोर्डिङ स्कुलको ग १ क ६६२२ नम्बरको भ्यान बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पोखरा महानगरपालिका–६ दिगोपाटन निवासी १६ वर्षीय अमृत परियारको बायाँ खुट्टामा सामान्य चोट लागेको छ। त्यसैगरी पोखरा महानगरपालिका–१८ सेदी निवासी १६ वर्षीय अंकित कुँवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ ।

घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पताल पठाइएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि सम्पर्कविहीन भएका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ निवासी ५२ वर्षीय चालक बलराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।