जन्मभुमि खबर ,
पोखरा ।
पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक बालकको सशस्त्र प्रहरीले उद्धार गरे पनि उपचारको क्रममा मृत्यु भएको छ ।
कास्की जिल्ला पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्दा स्थानीय १० वर्षीय आरेस लामा डुबेर बेपत्ता भएका थिए ।
बालक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली तत्काल घटनास्थलतर्फ परिचालन भएको थियो ।
सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा खटिएको गोताखोरसहितको सात सदस्यीय टोलीले खोजी कार्य तीव्र पारेको थियो। खोजी गर्ने क्रममा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालिएको थियो ।
उद्धारलगत्तै उनलाई उपचारका लागि पोखरा–१० रामघाटस्थित पश्चिम क्षेत्रीय गण्डकी अस्पताल पठाइएको थियो । अस्पताल पुर्याएर उपचार सुरु गरिए पनि दिउँसो १२:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।