जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री बालेनलाई पोखरा–२१ का नेकपा अध्यक्ष राजेन्द्र थापाले दिए बधाई

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका–२१ का नेकपा (एमाले) अध्यक्ष राजेन्द्र थापाले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सपथ ग्रहण गरी सम्पूर्ण नेपाली जनताको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष थापाले प्रधानमन्त्री शाह अब कुनै एक दल वा समूहको मात्र नभई सिंगो राष्ट्रको अभिभावकको रूपमा अघि बढ्नुपर्ने बताएका छन् । लोकतन्त्रको सुन्दर पक्ष यही हो—विचार फरक हुन सक्छ, तर देशप्रति साझा जिम्मेवारी निभाउनु अनिवार्य हुन्छ। उहाँले हामी सबैभन्दा पहिले सच्चा नेपाली नागरिक हौं र सहि र गलत छुट्याउने साहस राख्नु नै साँचो देशभक्ति भएको व्यक्त गरेका छन् ।

अध्यक्ष थापाले वर्तमान राजनीतिक परिवेशमा एकअर्कालाई “झोले” भनेर आरोप–प्रत्यारोप गर्ने प्रवृत्ति बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै कुनै पनि दलका कार्यकर्ता भए पनि सबै नागरिकको सम्मान समान हुनुपर्ने धारणा राखेका छन्। उनले आफूलाई सहि लागेको कुरा सबैलाई सहि लाग्नु अनिवार्य नभएको र अरूलाई सहि लागेको कुरा आफूलाई पनि सहि लाग्नैपर्छ भन्ने बाध्यता नरहने बताए । तर लोकतान्त्रिक व्यवस्थामा बहुमतले गरेको निर्णयलाई सम्मान गर्नु नै नागरिकको दायित्व भएको उनले स्पष्ट पारेका छन् ।

उनले सरकारलाई काम गर्ने वातावरण दिन आवश्यक रहेको उल्लेख गर्दै आफूले १०० दिनसम्म सरकार सञ्चालनका विषयमा अनावश्यक टिप्पणी नगरी परिणामको प्रतीक्षा गर्ने बताएका छन्। साथै, भ्रष्टाचारका फाइल एमाले पार्टीका नेतृत्वलाई लागेका आरोपबाट सुरु गरी निष्पक्ष छानबिन, सत्य–तथ्यको सार्वजनिकता र कानुनी प्रक्रिया अनुसार सजाय सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्। निर्दोषले अनावश्यक आरोपको भार नबोक्नुपर्ने कुरामा पनि विशेष ध्यानाकर्षण गरिएको छ ।

त्यस्तै, अध्यक्ष थापाले भाषणभन्दा व्यवहारमा देखिने परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विदेश जाने नेपाली घट्ने र विदेशबाट फर्किने युवाको संख्या बढ्ने वातावरण सिर्जना हुनु नै सरकारको वास्तविक उपलब्धि हुने धारणा व्यक्त गरेका छन्। कागजमा होइन व्यवहारमा सुशासन, भाषणमा होइन काममा विकास र जनताले प्रत्यक्ष महसुस गर्ने परिणाममुखी शासन प्रणाली आवश्यक भएको बताए ।

त्यसैगरी, अध्यक्ष थापाले सामाजिक सञ्जालको बढ्दो प्रभावका सन्दर्भमा “एल्गोरिदम (Algorithm)” को विषय उल्लेख गर्दै, यसले मानिसले हेर्ने वा मन पराउने सामग्रीका आधारमा त्यस्तै सामग्रीहरू बारम्बार देखाउने भएकाले कहिलेकाहीँ एकपक्षीय सोच निर्माण हुन सक्ने बताएका छन्। उहाँले यसका कारण प्रत्येक नागरिकले सही र गलत छुट्याउने क्षमता विकास गर्नु आवश्यक रहेको र निर्णय गर्दा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सचेत र जिम्मेवार नागरिक बन्नु अझ महत्वपूर्ण भएको व्यक्त गरेका छन् ।

अध्यक्ष थापाले देश परिवर्तनको समय आइसकेको उल्लेख गर्दै अब नारा होइन, परिणामले नेतृत्वको मूल्यांकन हुने स्पष्ट पारेका छन्। जनताको विश्वासमाथि खेलवाड गर्ने, भ्रामक प्रचार फैलाउने वा गलत काम गर्ने जोसुकैप्रति आवश्यक पर्दा सशक्त रूपमा खबरदारी गरिने चेतावनी दिएका छन् ।

अन्ततः, अध्यक्ष थापाले पुनः सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ज्युलाई सफल, पारदर्शी र जनमुखी कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।