जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २६ मा रहेको स्कुलको जग्गा व्यक्तिको बनाउने ६ जनाविरुद्ध मुद्दा

जन्मभुमि खबर ,

पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पोखरा महानगरपालिका २६ मा रहेको अमरज्योति आधारभूत विद्यालय परिसरको जग्गा गैरसुकुमबासीको नाममा दर्ता गरेको आरोप उनीहरूमाथि छ ।

कित्ता नम्बर ७२५ को जग्गा विद्यालयको भोगचलनमा रहेको भएपनि मिलेमतोमा व्यक्तिलाई सुकुमबासी बनाएर नामसारी गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । अख्तियारले प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुर गरेको अभियोग लगाएको छ ।

उनीहरू विरुद्ध १ करोड ४० लाख २५ हजार बिगो कायम गरिएको छ । अख्तियारले कास्कीका तत्कालीन मालपोत प्रमुख रामचन्द्र अधिकारी, भूमि आयोगका सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपालीमाथि मुद्दा चलाएको हो ।

जग्गा पाउने भीमबहादुर विक पनि प्रतिवादी भएका छन् । उनीहरूबाट बिगो जफत गरी सोही बराबरको जरिवाना र कानुन बमोजिम कैद सजायको मागदाबी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।