जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा भाडा प्रकरणमा वडाअध्यक्ष सहितलाइ भ्रष्टाचार मुद्दा दायर

जन्मभुमि खबर ,
पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा र भवन निजी बोर्डिङ स्कुललाई गैरकानुनी रूपमा भाडामा दिएको विषयमा भ्रष्टाचार गरेको जिकिर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले अनुसन्धानका क्रममा राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, पोखरा महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् पदेन सदस्य साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वरुणविक्रम राणा, शोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाईं तथा अञ्जुली बोर्डिङ स्कुल प्रालिका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसी संलग्न रहेको पाइएको भन्दै आइतबार आरोपपत्र दायर गरेको हो ।

अनुसन्धान अनुसार, विद्यालयको नाममा रहेको ३७–८–०२ (१९०९४.३० वर्ग मिटर) क्षेत्रफलको कित्ता नं. ३४३ को जग्गामा बनेका पूर्वाधारसहितको करिब ४ रोपनी जग्गा र भवन १२ वर्षका लागि निजी सञ्चालित अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई भाडामा दिने गरी गैर कानुनी निर्णय गरिएको थियो ।

यस कार्यबाट १५ लाख २९ हजार ४ सय ८ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको अख्तियारको ठहर छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा ३ को उपदफा (१) को देहाय (च) र (घ), दफा १९ को उपदफा (२) र दफा २२ बमोजिम कसुर गरेको भन्दै कैद र जरिवानासहित बिगो असुल उपरको मागदाबी गरेको छ ।