जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा चक्कुले हानेर साथीको हत्या, एक जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा शनिबार बिहानै एक जनाको हत्या भएको छ। पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ।

पराजुली र तिमिल्सिना शुक्रबार राति सँगै बसेर मदिरा सेवन गरेका थिए । मदिरा सेवन गर्ने क्रममा उनीहरुबीच सामान्य विवाद भएको थियो । पहिलो भेटमा पनि सामान्य विवाद भएका उनीहरुबीच शुक्रबार भएको दोस्रो भेटमा पनि विवाद उत्पन्न भएपछि पराजुलीले तिमिल्सिनालाई थप्पड हानेका थिए । गालीगलौज गर्दै थप्पड हानेपछि तिमिल्सिना रिसले चुरहुँदै रेष्टुरण्टबाट बाहिरिन खोजेका थिए । त्यस क्रममा पराजुलीले माफी पनि मागेका थिए ।

तर रिसले आगो भएका उनले कसैले भनेको सुनेनन् । रेष्टुरेण्टबाट बाहिरिने क्रममा चक्कु लिएर निस्किएका तिमिल्सिनाले करीब ५० मिटरको दुरीमा ढुकेर पराजुलीमाथि पछाडीबाट चक्कु प्रहार गरेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिएको थियो । मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

हत्या गरिएका अनिल पराजुली र पक्राउ परेका ईश्वर तिमिल्सिना साथी भएको खुलेको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’